काठमाडौं– सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रतिशोधपूर्ण राजनीति गरिरहेको आरोप लगाएका छन्।
डेढ वर्ष प्रधानमन्त्रीको प्रस्ताव गरेको कांग्रेसले आफूले भनेको नमानेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएर प्रतिशोधपूर्ण ढंगले राजनीतिक गरिरहेको ओलीको आरोप थियो।
शुक्रबार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले उपप्रधानमन्त्री लामिछाने सहकारी प्रकरणमा निर्दोष रहेको कुरा महान्यायाधिवक्ताको कार्यालयले समेत स्पष्ट पारेको जिकिर गर्दै ओलीले यस्ता कुरामा संसदीय छानबिन समितिको माग गरेर कांग्रेसले राजीनामा माग्ने खेल सुरु गरेको दाबी गरे।
पहिला प्रधानमन्त्रीको प्रस्ताव गरेको कांग्रेसले फेरि लामिछानेमाथि नभएको अभियोग लगाउने कोशिस गरेर छुद्र राजनीति गरेको ओलीको भनाइ थियो।
उनले भने, ‘हामीले रविजीको राजीनामा मागेका छैनौँ भन्छ कांगेस। अहिले राजीनामा मागिएको छैन। केही पनि नहुँदा समिति बनाउ भन्ने, समिति बनेपछि आफ्नै बारेमा छानबिन गर्न आफैं उपस्थित भएको सांसद छानबिन गर्नु परेपछि मन्त्रीको पदमा बस्न मिल्छ? उपप्रधानमन्त्री, गृहमन्त्री भएर झण्डा हल्लाउन मिल्छ? छानबिनलाई प्रभावित गर्दैन पुलिसले? अनि गृहमन्त्री कसरी पदमा रहन सक्छ भन्ने। त्यो छानबिन समिति बनाई सकेपछि तत्काल उहाँहरुले सुरु गर्नुहुन्छ राजीनामाको खेल। अनि, एकातिर डेढ वर्ष तपाई प्रधानमन्त्री भईदिनुस्। यो समिकरण छोडिदिनुस्, हाम्रो गठबन्धनमा आउनुस्। डेढ वर्ष प्रधानमन्त्री खाईदिनुस् भन्न जाने। त्यो हुन्न भनेर त्यो कागजको सम्झौतामा सही नगरेपछि अनि विभिन्न फाईल बोकेर रिसर्च गर्नुपर्ने। नेपाली काँग्रेसको यस्तो तरिका फिअर छैन। यस अधिवेशनमा उहाँहरु कसरी आउनुहुन्छ? मलाई थाहा छैन। तर राजनीतिमा यस प्रकारको छुद्र खेलहरु खेलिनु हुँदैन।’
ओलीले कसैले उजुरी हालेको भरमा छानविन समिति बनाउने कुरा उचित नभएको र त्यसलाई मान्य पक्षमा आफूहरु नरहेको अडान पनि राखे। ‘साच्चै कोही दोषी छ भने त्यो छानबिन गर्नु, कारबाही गर्न बेग्लै कुरा हो। दोषी छैन, कसैको उजुर छैन। अनि फेरि दोषी करार गरेर कुनै पार्टीलाई सनक चल्यो भन्दैमा, कसैलाई धक्का पर्यो भन्दैमा त्यस प्रकारको छानबिन गर्ने, अव कसैलाई एउटा उजुर हाल्न लगाई देला। उजुर हालेको भरमा छानविन गर्न थाल्ने हो भने सबैका विरुद्ध उजुरी पर्दछन्। सबैको छानबिन हुन्छ। किन? आधार त केही पनि चाहिँदैन। यस्तो खालको कुरा कमसेकम नेपाली काँग्रेसले गर्नु हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।