काठमाडौँ- सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुको छलफल बिना निस्कर्ष सकिएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकमा शुक्रबारबाट सुरु हुने वर्षे अधिवेशन व्यवस्थित बनाएर लैजाने बारेमा छलफल भएको थियो।
बैठकमा सहभागी सचेतकहरुले भने शुक्रबारको बैठकमा गृहमन्त्री रवि लामिछानेले संसद्लाई सम्बोधन गर्ने बताएका छन्।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाको आरोप लगेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम नै राखेको छ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठकमा शुक्रबारको प्रतिनिधि सभाको बैठकमा शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची तय भएको र शिर्ष नेताहरुको सम्बोधनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहजता पूर्वक सभा सञ्चालन गर्न दिनुपर्ने बारेमा छलफल भएको बताए। उनले भने, ‘शुक्रबारको बैठक सहज ढंगले अघि बढ्छ र गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्नुहुन्छ।’
उनले बैठकमा व्यवस्थापनसँग सम्बन्धित कुनै पनि कार्यसूची नराख्ने र शिर्ष नेताहरुले बैठकमा सम्बोधन गर्ने भएको कांग्रेसले सभा अवरुद्ध नगर्नेमा विश्वस्त रहेको बताए। उनले संसद्को बैठकमा शिर्ष नेताहरुले महत्व दिएर सम्बोधन गर्ने कुरा जरुरी रहेको र यसले राजनीतिक अर्थका दिनुका साथै देशभरका समस्या शिर्ष नेताबाट उजागर हुने अपेक्षा गरे।
बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबारको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्ने बताए।
बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको बैठक शुक्रबार नै बस्ने भएकाले थप निर्णय नभए पनि संसद सामान्य हिसाबमा नै अघि बढ्ने बताए। उनले शुक्रबारको प्रतिनिधि सभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा सम्बोधन गर्ने पनि जानकारी दिए।
उनले भने, ‘भोलिको सदनका बारेमा सामान्य के हुन्छ भन्ने कुरा भयो । नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको बैठक भोलि नै बस्ने भएकाले यो भन्ने आज नै केही भएको छैन। सामान्य हिसाबमा यो अधिवेशन सुरु गर्ने भन्नेमा छलफल भएको छ। संसद् चल्छ। संसद्को विषयमा सबै पार्टी गम्भीर छन्। रविजीले भोलि सम्बोधन गर्नुहुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।