काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएको नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा अध्यक्षको अप्रजातान्त्रिक र स्वच्छाचारी चरित्रका कारण पार्टी विभाजन गर्नुपरेको बताएका छन्।
पार्टी विभाजन र नयाँ दल गठनका सम्बन्धमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अध्यक्ष उपेन्द्र यादवबाट हुँदै आएको अपारदर्शी निर्णय र कार्यकर्ताबीच गर्ने विभेद्कारी शैलीले पार्टी विभाजनका लागि मलजल गरेको दाबी गरे।
राईले भने, ‘पार्टीको सङ्गठनात्मक सिद्धान्त अनुरूप आन्तरिक लोकतन्त्रको अभ्यास नगर्ने र प्रदेशलाई आफ्नो अधिकार प्रयोग गर्न नदिनेतर्फ पार्टी नेतृत्व उद्दत हुनेजस्ता कारणले पार्टीमा गम्भीर वैचारिक र सैद्धान्तिक मतभेद् रह्यो। त्यसै कारण एकै ठाउँमा रहन सकिएन।‘
उनले सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वको नीतिविपरीत हुनेगरी अध्यक्षात्मक प्रणालीमा जस्तो एकल निर्णय गर्ने तथा सिद्धान्तमा सङ्घीय ढाँचाको पार्टी भन्ने गरे पनि व्यवहारमा जिल्ला र पालिकालाई हस्तक्षेप गर्ने प्रवृत्तिले सङ्गठनात्मक समस्यासमेत देखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।