काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले दलको आगामी दसौँ महाधिवेशनबारे विभिन्न देशका कम्युनिस्ट–सोसलिस्ट–लेबर पार्टीलगायत गरी करिब ६ सय पार्टी निकट दल र सङ्गठनलाई जानकारी गराएको छ।
पार्टी विदेश विभागको शनिबार बजेको नवौँ बैठकमा बङ्गलादेश, इरान, कजाकस्तान रुस, फ्रान्स, रोमानिया, अस्ट्रेलिया आदि गरी २२ देशबाट प्रारम्भिक प्रतिक्रिया प्राप्त भइसकेको विवरण दिइयो।
दलका सम्मानित नेता तथा विभाग प्रमुख झलनाथ खनालका अध्यक्षतामा आज दलको कार्यालय, आलोकनगरमा बसेको बैठकमा महाधिवेशनमा विदेशका साम्यवादी दल, वामपन्थी दल तथा प्रगतिशील सङ्गठनहरूलाई निमन्त्रणा गरिनेबारे पनि छलफल भएको जनाइएको छ।
त्यस्तै महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा विश्व परिस्थितिको समग्र विश्लेषण, नेपालको परराष्ट्र नीति र त्यसमा जलवायु परिवर्तन तथा वातावरण सुरक्षाका विषय जस्ता नयाँ आयाम पनि समावेश गरिनेबारे छलफल भएको विभागका सचिव डा शङ्कर खतिवडाले जानकारी दिए।
बैठकमा पूर्वप्रधानमन्त्री खनालले महाधिवेशनमा समाजवादी क्रान्ति र पूर्ण रूपान्तरणको कार्यक्रमसहित चार दस्तावेज आउने र सकेसम्म केन्द्रीय समितिको एकै प्रतिवेदन बन्ने बताए।
विभागका उपप्रमुख प्रमेश हमालले मार्क्सवादी–लेनिनवादी सिद्धान्त अनुरूप समाजवादी क्रान्ति र रूपान्तरणका दिशामा अगाडि बढ्ने पार्टीको कार्यक्रम रहेको स्पष्ट गरे। उपमहासचिव डा विजयकुमार पौडेलले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता गराउने, मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिनेलगायत माग राखी पीडितका तर्फबाट भइरहेको अनसनमा पार्टीको ध्यान पुग्नुपर्ने र छिट्टै सरकारसँग सहमति गराउन भूमिका खेल्नुपर्नेमा जोड दिए।
दलको अधिवेशन आगामी असार १६ देखि २० गतेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ। यसैबीच पार्टी स्थायी कमिटी बैठक यही वैशाख २६, पोलिटब्युरो बैठक यही वैशाख २७ र केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।