काठमाडौँ- सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियो सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको छ।
न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको संयुक्त इजलासमा शुक्रबार अनलाइनका कार्यकारी सम्पादक नवीन ढुंगानासँग बयान लिएकामा मुद्दा हेर्दाहेर्दैमा राखी आइतबार सुनुवाइ गर्ने भएको हो।
सर्वोच्चले अनलाइनका प्रकाशक युवराज कँडेलसँग बिहीबार बयान लिइसकेको छ भने अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग आइतबार बयान लिने यसअघि नै तय गरिसकेको छ। तिमिल्सिनालाई सबुद प्रमाणसहित यही वैशाख २३ गते १० बजे बयानका लागि अदालतमा उपस्थित हुन सर्वोच्च इजलासको आदेश छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो।
अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो-भिडियोसामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेस गरेको थियो। सोही आधारमा यही वैशाख १७ गते न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सो सामग्री २४ घण्टा भित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।