काठमाडौँ- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार सम्बन्धी विधेयकमा नेपाली काँग्रेसको कुनै विरोध नरहने बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले आएका विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने कुरामा नेपाली कांग्रेस सकारात्मक रहेको बताए।
संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारको दफावार छलफल गरेर अन्तिम चरणमा पुर्याएको भन्दै खतिवडाले विधेयक गम्भीर रहेकाले शिर्ष नेतृत्वसँग बसेर सकेसम्म सहमतिमै टुंग्याउने पक्षमा रहेको बताए। उनले अख्तियार सम्बन्धी विधेयक र भ्रष्टाचारसम्बन्धी विधेयकमा विज्ञहरुसँग छलफल गरी अघि बढाउने उल्लेख गरे। निर्माण सामग्री सम्बन्धी विधेयकमा झन्डै ४ सय वटा संशोधन परेको जानकारी दिँदै उनले निर्माण सामग्री सम्बन्धी विधेयक अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको बताए।
खतिवडाले भने, ‘हाम्रो पहिलो प्राथमिकता विधेयकमा नै हुन्छ। हामीले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारको दफावार छलफल गरेर अन्तिम चरणमा पुर्याएका छौँ। विधेयक अलि गम्भीर र शिर्ष नेतृत्वसँग बस्नुपर्ने हुँदा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसँग बसेर सकभर सहमतिमा नै टुंग्याउने पक्षमा छौँ। निर्माण सामग्री सम्बन्धी विधेयक समितिमा आइसकेको छ। त्यसमा झन्डै ४ सय वटा संशोधन छन्। त्यसलाई पनि अघि बढाउनुपर्नेछ।’
सभापति खतिवडाले हप्तामा तीन दिन संसद चलाउने र तीन दिन समिति सञ्चालन गर्ने कुरालाई ढिला नगरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।