काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवं संयक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय ब्यूरो निर्देशक कान्नी विङ्नाराजाले शिष्टाचार भेट गरेकी छिन्।
सिंहदरबारमा बिहीबार भएको भेटमा उनीहरुबीच नेपाल र यूएनडीपीसँगको सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिए।
सल्लाहकार सापकोटाका अनुसार प्रधानमन्त्री दाहालले नेपालको सामाजिक र आर्थिक विकासमा यूएनडीपीले सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि जलवायु परिवर्तनबाट नेपालमा परेको असर न्यूनीकरणमा यूएनडीपीको सहयोग रहने विश्वास व्यक्त गरे।
राष्ट्रसङ्घका सहायक महासचिव विङ्नाराजाले नेपालले आयोजना गरेको लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै नेपाल–यूएनडीपीबीचको सहकार्यलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।