काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नियम उल्लंघन गरेका निर्माण कम्पनीहरुलाई कारबाही भए/नभएकोबारे सरकारको जवाफ माग गरेका छन्। बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो जवाफ मागेका हुन्।
सांसद सापकोटाले यो वर्ष काम नै नगरेका कम्पनीहरु कति छन्? भन्ने प्रश्न गर्दै कति वटाका ठेक्का सम्झौता रद्ध भए, कति वटा कारबाहीका प्रक्रियामा छन् भन्नेबारेमा सरकारले जवाफ दिनुपर्ने बताए। उनले सडकको अवस्थाका बारेमा सबै विज्ञ रहेको भन्दै निर्माण नगर्ने कम्पनीहरुलाई कारबाही गर्न आग्रह गरे।
बजेट नभएका कारण काम नभएको भन्ने नभई बजेट भएर काम नभएको पनि उत्तिकै जटिलता रहेको उनले बताए। सांसद सापकोटाले भने, ‘जताततै काम भएन, यो भएन, त्यो भएन भन्ने कुरा छ। यसका बारेमा सबै अनविज्ञ छौँ भन्ने पनि लाग्दैन। ती सडकहरुमा हामी हिँडेकै छौँ। प्रतिकात्मक हिसाबले मान्छेहरुले सामाजिक सञ्जाल सबैतिरबाट गालीहरु गरिरहेका छन्। यो वर्ष काम नै नगरेका नियम उल्लंघन गरेका निर्माण कम्पनीहरु कति वटालाई कारबाही भयो, कति वटाका ठेक्का सम्झौता रद्ध भए, कति वटा कारबाहीका प्रक्रियामा छन्। बजेट मात्रै नभएका कारण काम नभएको होइन नि बजेट भएर काम नभएको पनि उत्तिकै जटिलता छ।’
सांसद सापकोटाले तदर्थका लागि काम कारबाही गर्ने कुराले कहीँ नपुगिने समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।