हुम्ला- नेकपा एमाले हुम्लाको अध्यक्षमा ज्ञामी बुमीको प्यानल निर्वाचित भएको छ। हुम्लामा एमालेले फेरि प्यानलगत चुनावको अभ्यास गरेको हो। बुमीको प्यानल केन्द्रीय सदस्य दल रावल पक्षधर हो। उक्त प्यानलमा अर्का केन्द्रीय सदस्य छक्क लामाको समेत समर्थन थियो।
आइतबार भएको पार्टीको १०औँ जिल्ला अधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने सम्भावना नरहेपछि अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो । अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत थिए। उनी जम्मा ५ मतले पराजित भए। उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको छ ।
रावतको प्यानललाई एमाले स्थायी समिति सदस्य गोरखबहादुर बोगटी र केन्द्रीय सदस्य दल फडेराले सघाएका थिए।
रावल पक्षका प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भएका छन्। अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।