काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विधान अनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागि प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका तयार समिति समिति गठन गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिको सदस्यमा शिवलाल थापा र मनिषकुमार सुमन रहेका छन्।
त्यस्तै वैशाख ३ गते भित्र प्राप्त हुन आएका संगठित सदस्यहरुको विवरण मात्र राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि अभिलेख राख्ने निर्णय भएको छ। सङ्गठन विभागले उक्त सङ्गठित पार्टी सदस्यताको अभिलेख तयार गर्दा निम्नानुसारको समय कार्यतालिका अनुसार कार्य गर्नुपर्ने भनिएको छ।
कार्यतालिका
१. मिति २०८१।०१।१० गते भित्र सङ्गठन विभागले आवश्यकता अनुसार सङ्गठित पार्टी सदस्यता माथि छानबिन गरी अभिलेख तयार गर्ने।
२. सङ्गठित सदस्यता माथि त्रुटि देखिएमा त्रुटि सच्याउने कार्य मिति २०८१।०१।१५ गते भित्र गरि सक्नु पर्नेछ।
३. मिति २०८१।०१।१६ गते सङ्गठित पार्टी सदस्यताको अभिलेख सार्वजनिक गरिनेछ।
४. सङ्गठित पार्टी सदस्यता सम्बन्धी उजुरी गर्ने समय मिति २०८१।०१।१७ देखि २०८१।०१।२० गते सम्म गरि सक्नु पर्नेछ।
५. मिति २०८१।०१।२१ देखि २०८१।०१।२५ गते सम्म सङ्गठित सदस्यता माथि परेका उजुरी माथि छानवीन गरि सक्नु पर्नेछ।
६. सङ्गठित पार्टी सदस्यहरूको अन्तिम नामावली सहितको विवरण मिति २०८१।०१।२६ गते प्रकाशन गरिनेछ।
७. मिति २०८१ साल बैशाख ३० गते देखि जेष्ठ १० गते भित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरी सक्नु पर्नेछ ।
८. संगठित पार्टी सदस्यताको विवरण पठाउदा पार्टी सदस्यता प्राप्त गरेको मिति छुट्न गएको वा उल्लेख नभएको खण्डमा त्यस्ता संगठित सदस्यहरुको सदस्यता प्राप्त मिति सहितको विवरण सम्बन्धीत प्रदेश समितिलाई निर्देशन दिने र सम्बन्धीत प्रदेशले संगठन विभागमा यथाशिघ्र पठाउनु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।