दाङ- दाङको घोराहीमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आशिष चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।
आन्द्राभरैयाका चार बालक घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरु माटोको ढिस्कोमा पुरिएको प्रहरीले जनाएको छ। आइतबार दिउँसो खेल्न गएकामध्येबाट तीन खाल्डोमा परेपछि एक जना बालकको उद्धार गरिए पनि अन्य दुईजना गहिरो खाल्डोमा गएर पुरिएका थिए।
पुरिएकालाई गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगिएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरी प्रमुख केसीले जानकारी दिए। उनीहरुको शव परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।