काठमाडौं- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाटै दोस्रो दाबी पनि परेको छ। सो पार्टीका कैलाश चौधरीले पनि दाबी पेस गरेका हुन्।
कैलाशलाई मुख्यमन्त्रीका लागि एमाले, माओवादी केन्द्र र एक जना स्वतन्त्र सांसद तारा जोशीले समर्थन गरेका छन्। प्रदेश सभामा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ६ सांसद छन्। नागरिक उन्मुक्तिका ७ मध्ये एक जना पदुमुक्त भएकी छिन्।
अर्का एक जनालाई पनि अध्यक्ष रञ्जिता श्रेष्ठले निलम्बित गरेकी छिन्। यसअघि नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन्।
उनले नाउपाकै अतिरिक्त कांग्रेस र एकीकृत समाजवादीको पनि समर्थन रहेको पत्र सहित दाबी पेस गरेका हुन्।
लक्ष्मणकिशोर नाउपाका संरक्षक रेशम चौधरी पक्षका हुन्। त्यस्तै, कैलाश भने नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका हुन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा अहिले ५१ सांसद बाँकी छन्। १९ सिट जितेको कांग्रेसका एक सांसद पृथ्वीबहादुर सिंहको मृत्यु भएको थियो।
नाउपाकी एक सांसद गिरीलाई पार्टीले पदमुक्त गरेको छ। त्यसैले मुख्यमन्त्रीमा दाबी गर्नका लागि २६ सांसद पुग्ने पार्टीहरूको समर्थन चाहिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।