काठमाडौं- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन्। उनले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्।
चौधरीले नागरिक उन्मुक्ति पार्टी (७ सांसद), नेपाली कांग्रेस (१८ जना) र एकीकृत समाजवादी (४) जनाको समर्थनसहित दाबी पेस गरेका हुन्। यो संघीय गठबन्धनको विपरीतको गठबन्धन हो।
एकीकृत समाजवादीमा भने लक्ष्मणकिशोर चौधरीलाई समर्थन नगर्न निर्देशन दिइएको छ। एक प्रदेश सांसदका अनुसार, केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले संघीय गठबन्धन अनुसारकै व्यक्तिको पक्षमा उभिन निर्देशन दिएका छन्।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति पार्टीलाई दिने सहमति भएको थियो। सो बैठकमा एकीकृत समाजवादीले आफूले नेतृत्व पाउनुपर्ने माग गरेको थियो। तर बैठकले भने नाउपाकै पक्षमा निर्णय गरेको थियो।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा छिन्। तर संरक्षक रेशम चौधरी पक्षधरहरूले लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउन सक्रियता देखाएका थिए। सोही अनुसार उनीहरूले कांग्रेस र एकीकृत समाजवादीसँग संवाद अघि बढाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।