काठमाडौं- नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनालले गत वर्ष वामपन्थी शक्तिहरू विभाजित भएको र दक्षिणपन्थी शक्तिहरू बलियो भएको समीक्षा प्रस्तुत गरेका छन्।
नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले भनेका छन्, 'गत वर्षभरि देशका वामपन्थी शक्तिहरू एक आपसमा विभाजित हुने, एक अर्कोप्रति आक्रमक हुने र आफूले आफैंलाई कमजोर बनाउने दिशामा लागे भने दक्षिणपन्थी शक्तिहरूले आफूलाई बलियो बनाउँदै लगे।'
उनले त्यस्तो परिस्थितिले मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यता सिर्जना भएको बताएका छन्। साथै, मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियताको क्षेत्र संकटग्रस्त बन्दै गएको उनको भनाइ छ। अहिले पनि मुलुक चौतर्फि संकटले आक्रान्त रहेको उनको विश्लेषण छ।
'तर वर्षको ११औँ महिनामा आइपुग्दा देशका वामपन्थी शक्तिहरू निकट आएका छन्, संयुक्त सरकारमा सहभागी बनेका छन् र जनता र राष्ट्रका साझा सवालमा एकताबद्ध भएको घोषणा गरेका छन्। यो एउटा सकारात्मक राजनीतिक विकास हो', खनालको भनाइ छ।
उनले संयुक्त सरकारमा सहभागी हुनु नै पर्याप्त नभएको भन्दै सबै वामपन्थी समूहरू दम्भ र घमण्डबाट मुक्त हुनुपर्ने र सबैका बीचमा समानता र सम्मानका साथ साझा आधारमा एकताबद्ध बन्न र बनाउन सक्नुपर्ने मत राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।