खोटाङ-नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई चयन गरेको हो ।
अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले एक सय ८७ मत पाएको प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताए । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१४ बुइपा निवासी राई सातौँ जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित भएका थिए ।
पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी भएका छन् । पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । एक उपसचिवका लागि सात जनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा तथा समावेशी उपसचिवमा कविता राई विजयी भएका छन् । आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिएका छन् ।
यसैगरी, एकजना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार, दलित महिला कोटामा रेखा रम्तेल, खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी), खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।