काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्था समस्या नै समस्याको पोको भएको भन्दै परिवर्तन गर्ने समय आएको बताएका छन्। अहिलेको व्यवस्थाले देश र जनताको अवस्था परिवर्तन गर्न नसक्ने भन्दै थापाले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकले धान्न नसक्ने दाबी गरे।
गणतन्त्र भ्रष्टाचारको संरक्षक र बेथितिको मूल भएकोले यो प्रणाली र व्यवस्थाले मुलुकलाई सुरक्षित राख्न नसक्ने बताए। देशलाई बचाउन र बनाउन राजासहितको प्रजातन्त्र, सनातन हिन्दूराष्ट्र आवश्यक भएको भन्दै थापाले गणतन्त्र भ्रष्टतन्त्रमा परिणत भएको बताए।
पार्टीको कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै थापाले सस्तो र चर्का कुराले मुलुकको समस्याको समाधान हुन नसक्ने चर्चा गर्दै दीर्घकालीन सोच र कार्ययोजना बिना दिगो विकास र स्थायित्व हुन नसक्ने थापाले बताए। अहिलेको प्रणाली सहमति मै परिबर्तन हुन सक्ने भन्दै सहमति गर्न कन्जुस्याइँ गरे आन्दोलनको विकल्प नहुनेसमेत थापाको धारणा थियो।
व्यवस्था परिवर्तनको लागि सडकमा आउने शक्तिहरु सबैलाई समेटेर एकजुट भएर आन्दोलनमा जाने बिषयमा राप्रपा नेपालले पहल गर्ने समेत उनको धारणा थियो। लुटतन्त्रले निरन्तरता पाए मुलुक थिलथिलो हुने भन्दै थापाले अब निर्णायक आन्दोलनको जरुरी भएको बताए। बैठकले इलाम उपनिर्वाचन लक्ष्यित कार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।
अध्यक्ष थापा लगायत पदाधिकारीहरु इलाम जानेसमेत तयारी गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। बैठकले उपनिर्वाचनको लागि सह- महामन्त्री तेज कुरुङ्गवाङको संयोजकत्वमा समन्वय समिती निर्माण गरेको छ। समितिमा प्रेम भट्टराई, माधव आचार्य ,ममता राई, रोहित पौडेल, भरत पोखरेल, कमल खरेल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।