काठमाडौं– नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानबिन अगाडि नबढाएको विषयमा कांग्रेसमाथि नै छानबिन गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली काँग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानबिन भएन भनेर प्रश्न गरेका हुन्।
उनले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै कांग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने बताए। उनले कांग्रेसले सरकारबाट बाहिरिने बित्तिकै प्रतिशोध साँधेको बताए। सरकारमा हुँदा जनताहरु सहकारीबाट ठगिएको नदेख्ने कांग्रेसले सरकारबाट बाहिरिनसाथ देखेको बताए।
उनले भने, ‘संसद् प्रक्रिया विधि स्थापित मान्यताबाट चल्छ। स्थापित विधि र मान्यतालाई धज्जी उडाउँदै प्रमुख प्रतिपक्षले यसरी संसदका महत्वपूर्ण बिजनेसहरु, महत्वपूर्ण कामहरुलाई अवरोध गर्नेगरी जे कामहरु गरिराख्नुभएको छ। विधि स्थापित गर्ने ठाउँबाट विधिलाई सत्यनाश गर्ने, विधिलाई समाप्त पार्ने काम हुँदैछ। दुःखद् कुरा हो। प्रमुख प्रतिपक्षले आफ्ना आन्दोलनका रुपहरुलाई बदल्नुपर्छ। सांसदको कानून बनाउने मुख्य अभिभारा वा जिम्मेवारी अवरोध नगर्नका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गर्न चाहन्छु। यो संसदबाट समिति बनाउने नै हो भने पहिलो कुरा सरकारमा हुँदा काँग्रेसले किन बद्नियत राखेर दोषिका बारेमा, प्रश्न उठेका व्यक्तिका बारेमा अनुसन्धान गर्न चाहेन? प्रक्रिया अगाडी बढाउन चाहेन? त्यो नियतको बारेमा अध्ययन र अनुसन्धान गर्न समिति बनाउनुपर्छ। सरकारबाट बाहिर आउनेबित्तिकै प्रतिशोध साँध्नका लागि, सरकारबाट हट्ने बित्तिकै सहकारीबाट धेरै जनताहरु ठगिएका रहेछन् भनेर देख्ने? सरकारमा हुँदा पट्टी बाँधेर हिँड्ने।’
उनले कांग्रेसले संसदको स्थापित विधि र मान्यतालाई धज्जी उडाएर संसद अवरुद्ध गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।