काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश औद्योगिकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन्। बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले देश औद्योगिकरण हुन नसक्नुको आधारभूत कारण खोज्न जरुरी रहेको बताए। उनले देशका राष्ट्रिय उद्योग धन्दाहरुलाई विकास गर्न सक्नुपर्ने बताए। उनले पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन नसकेको बताए। विदेशीहरुको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव नहुने बताए।
उनले भने, ‘देश औद्योगिकरण हुन नसक्नुको कारण के हुन्, आधारभुत कारणहरु हामीले खोज्नुपर्छ। आधारभूत कारणलाई निवारण नगरेसम्म देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न सकिँदैन। देशलाई औद्योगिकीकरणतर्फ लैजानैपर्छ। हाम्रो देशका राष्ट्रिय उद्योग धन्दाहरुलाई विकास गर्न सक्नुपर्छ। राष्ट्रिय उद्योग धन्दाहरु भनेको के हो? हामीसँग कृषि क्षेत्रसँग सम्बन्धित मात्रै पनि अनेकौँ उद्योगहरु बनाउन सकिन्छ। बन्न पनि खोज्दैछन्, बनाउने सम्भावना व्यापक छन्। हामीसँग वनजन्य उद्योगहरु व्यापक रुपले बनाउन सकिने सम्भावना छन्। तर वनलाई हामीले जसरी उपयोग गर्नुपर्ने हो त्यसरी अझै उपयोग गर्न सकिरहेका छैनौं। हामी पानीजन्य उद्योगहरु पनि सञ्चालन गर्नसक्छौं।’
पूर्वप्रधानमन्त्री खनालले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा नेपाल संकटग्रस्त बनेको बताए। निजी क्षेत्रले अघि सारेका समस्या समाधान गर्नसके मात्रै देशको राष्ट्रिय अर्थतन्त्रले गति लिनसक्ने बताए। उनले राज्यले औद्योगिक क्षेत्रलाई संरक्षण दिन नसके भएका उद्योगहरु पनि बन्द हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।