काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म देश बन्न नसक्ने बताएका छन्। बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्।
उनले निजी क्षेत्रको मनोबल नउठेसम्म, निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म र सरकारमा बस्नेहरुको नियत नसुध्रिएसम्म देश बन्न नसक्ने बताए। उनले सरकारले बनाउने ऐन, कानूनहरु निजी क्षेत्रमैत्री हुनुपर्ने बताए।
उनले ऐन, कानून लगानीमैत्री नभए जति सुकै ठूलो लगानी गरेर पनि लगानी कर्ताहरु नेपालमा नआउने जिकिर गरे। अघिल्ला लगानी सम्मेलनका प्रतिबद्धताहरु कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो।
उनले देश लगानीकर्ताहरुलाई आह्वान गर्न तयार छ की छैन भन्ने प्रश्न अहिले उठ्ने गरेको बताए। उनले अहिले निजी क्षेत्रको मनोबल खस्किएको भन्दै सरकारले निजी क्षेत्रको मनोबल बढाउन सक्नुपर्ने बताए।
उनले निजी क्षेत्र अहिले सबैले हेप्ने क्षेत्र भएको बताए। सबै राजनीतिक दलहरुले उद्योगी व्यवसायीहरुसँग चन्दा नमाग्ने र दुःख नदिने कुरा संकल्प पत्रमा लेख्ने शाहस गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।