काठमाडौं– नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई मत दिने भएको छ।
सत्ता गठबन्धनभित्र राष्ट्रिय सभाको उपाध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको सो पार्टीले सो पद नपाएपछि एमाले उम्मेदवारलाई नै मत हाल्ने निर्णयमा पुगेको हो। नेकपा एकीकृत समाजवादीकी राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले सत्ता गठबन्धनमै रहेकाले कांग्रेस उम्मेदवारलाई मत दिन उचित नहुने बताइन्।
‘सत्ता गठबन्धनमै भएकाले शीर्ष नेतृत्वबाट एमाले उम्मेदवारलाई नै मत दिने सङ्केत आएको छ’, राईले नेपाल लाइभसँग भनिन्,‘गठबन्धनबाहिर भएको भए बेग्लै हुन्थ्यो।’
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले प्रतिस्पर्धा गर्दैछन्। उपाध्यक्षका लागि आज बुधवार १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा मतदान हुँदैछ।
५९ सदस्यीय राष्ट्रिय सभामा सत्ता गठबन्धन एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीको बहुमत भएकाले घिमिरेको जीत निश्चित जस्तै छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।