सिन्धुपाल्चोक- पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफू मन्त्री नभएको अवस्मा थापनि मन्त्री सरह काम गर्न तत्पर रहेको बताएका छन्।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका- ३, धुस्कुनस्थित महेन्द्रप्रताप माध्यमिक विद्यालयको ६४औँ स्थापना दिवस, अभिभावक भेला तथा पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रममा मन्तव्य राख्दै बस्नेतले सरकारमा जो भए पनि, आफ्नो पार्टी सरकारमा भए पनि, नभए पनि सिन्धुपाल्चोकका हरेक क्षेत्रको विकासका लागि क्रियाशील भएर लागि पर्ने बताए।
‘शिक्षाको क्षेत्रमा मैले सकेको बेलादेखि पढाउने मात्रै हैन, काठमाडौंका विद्यालय, कलेजहरुमा अध्ययनका लागि जेहेन्दार र गरिव विद्यार्थीलाई निरन्तर ३२ वर्षसम्म काम गरेको छु। उधारो खाएर बसेर पढ्नु र पढाउनुपर्थ्यो, जनताका छोराछोरीलाई पढाए बाठा हुन्छन् भनेर पढ्न बञ्चित गर्ने बेलामा काम गर्ने व्यक्ति हुँ, अहिले त सकेजति गर्छु,’ उनले भने।
उनले गफै दिएका भरमा विद्यालयका मञ्चमा भाषण गर्नेलाई अवसर दिनु उचित नभएको भन्दै काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे। ‘मैले मन्त्रालयको जिम्मेवारी सम्हालेको बेला यो पालिकामा मात्रै ५ वटा स्वास्थ्य चौकी भवन निर्माणका लागि पैसाको व्यवस्थापन गरिदिएको छु। स्वास्थ्य मन्त्री हुँदा एउटा मास्क र सिटामोल बाँड्न नसक्नेहरुसँग मलाई तुलना गर्न मिल्दैन,’ पूर्वमन्त्री बस्नेतले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।