काठमाडौं– माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष भएकी उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदका लागि उम्मेदवारी दर्ता सुरु भएको छ।
सत्ता गठबन्धनका तर्फबाट एमालेकी सांसद विमला घिमिरेलाई अघि सारिएको छ भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको छ।
कांग्रेस संसदीय दल कार्य समितिले राष्ट्रिय सभा सदस्य ७३ वर्षकी सांसद पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो। राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन यही चैत २८ गते हुँदैछ।
राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष अर्यालले यही चैत १५ गते पदबाट राजीनामा दिएपछि उपाध्यक्ष खाली छ। सत्तारुढ दलहरुले राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन्। माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष पाएकाले उपाध्यक्षमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले दाबी गर्दै आएका छन्।
एमालेकी विमला घिमिरे र एकीकृत समाजवादीकी मदनकुमारी शाह लगायतले राष्ट्रियसभाको उपाध्यक्षमा दाबी गर्दै आएका छन्। तर एकिकृत समाजवादी अन्तिम समयमा पछि हट्ने सहमति सत्ता गठबन्धनकाबीचमा भएको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।