काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योग,लगानीमैत्री वातावरण सिर्जना गरिने बताएका छन्। सोमबार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको काठमाडौंमा भएको १८ औं वार्षिक साधरण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन्।
उनले सरकारले उद्योगमैत्री कानून बनाएर अन्तिम चरणमा पुर्याएको दाबी गरे। उनले सरकारले निजी क्षेत्रलाई बलियो बनाउँदै उद्योग क्षेत्रमा देखिएका सम्भावनालाई पूरा गर्नेगरी काम भइरहेको बताए। उद्योगमन्त्री भण्डारीले समयाअनकुल उद्योग नीति,वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई समयाअनकुल अगाडि बढाउने बताए।
मन्त्री भण्डारीले सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा रहेको भन्दै आगामी बजेटमा हर्बल तथा जडिबुटी उद्योगलाई दिइरहेको सहुलियतलाई निरन्तरता दिने उल्लेख गरे। उनले करको विषयमा उद्योगी व्यवसायीहरुका असहमतिलाई नीतिगत रुपमा समाधान गर्नेगरी बजेट आउने जानकारी दिए।
उनले विश्व बजारसँग प्रतिष्पर्धा गर्न नेपालको प्राकृतिक सम्पदा र स्रोतहरुमा बढी केन्द्रित वस्तुहरु उत्पादनमा जोड दिनुपर्नेमा उल्लेख गरे। उनले नेपालमा यही क्षेत्रमा रोजगारी सिर्जना गरी नेपाली उत्पादनहरुलाई निर्यात गर्ने वातावरण बनाउनुपर्ने बताए।
उनले उद्योग नीतिमा भएका अस्पष्टताहरुलाई सरकारले चाँडै समाधान गर्ने प्रतिबद्धता जनाए। १० वटा उद्योगसँग सम्बन्धि ऐनहरु संशोधन गरेर उद्योगी व्यवसायीहरु उद्योग मन्त्रालय आएर मागहरु पूरा गरौं भन्ने देउसीभैलीको अन्त्य गरी ढुक्कले लगानी गर्ने वातावरण सिर्जना गरिने उनको भनाइ थियो।
मन्त्री भण्डारीले बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रमहरु ल्याउन लागेको पनि बताए। उनले स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न प्रधानमन्त्री नेपाली अभिवद्धि कार्यक्रम ल्याउँन लागेको जानकारी दिए। उनले स्टार्ट अफ नीति यो महिनाको अन्त्यमा कार्यान्वयनमा ल्याउने तयारी रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।