काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा रहेका पार्टीका पूर्व र वर्तमान पदाधिकारीको बैठक आह्वान गरेका छन्। बैठक सोमबार बिहान ८ बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेछ।
सभापति देउवाको सचिवालयका अनुसार संसद्मा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएका हुन्। संसद् बैठक मंगलबारका लागि बोलाइएको छ।
नेपाली कांग्रेसले सहकारीको रकम अपचलन गरेको आरोपमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको छ। कांग्रेसले उनीमाथि संसदीय छानबिन समिति नबनाए संसद् बैठक चल्न नदिने अल्टिमेटम दिइसकेको छ।
यसैबीच सभामुख देवराज घिमिरेले सहकारी ठगीका विषयमा छलफल गर्न सोमबार नै चार दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन्। छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।