काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले चैत्र २७ गतेको पार्टीको विरोध प्रदर्शनमा सरकारले तोकेका निषेधित क्षेत्रहरु तोडेर अघि बढ्ने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उनले सरकारले कथित रुपमा तोकेका निषेधित क्षेत्रहरु राप्रपालाई मान्य नहुने बताएका हुन्।
उनले राप्रपाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताउँदै सरकारले जुलुसलाई उत्तेजित बनाउन र अवरोध सिर्जना नगर्न आग्रह गरे। संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत बिरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेको उनले बताए।
अध्यक्ष लिङदेनले निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनहरुलाई साँघुरो बनाउने प्रयत्नहरु राप्रपालाई स्वीकार्य नरहेको बताए। उनले प्रदर्शन शान्तिपूर्ण हुने, सर्वसाधारणलाई असुविधा पुग्ने कुनै क्रियाकलाप नगर्ने स्पष्ट पारे। कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोजे राप्रपाले प्रतिवाद गर्ने चेतावनी दिए।
शनिबारको प्रदर्शनमा राजनीतिक दलहरुको प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको र भिक्षुहरुमाथि लात्ती प्रहार गरेको भन्दै भत्र्सना गरे। शनिबार भद्रकाली मन्दिर परिसर क्षेत्रमा नेता राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रहरीले भिक्षुकहरुमाथि लात्ती प्रहार गरेको थियो । सोही विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ।
अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग समान विचार राख्ने पार्टी र व्यक्तिहरुलाई एकतावद्ध भइ आन्दोलनमा होमिन आग्रह गरे। उनले देश बचाउने र बनाउने मुद्दामा सबै एक हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।