इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन्। शनिबार इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने बताएका हुन्।
उनले अरु पार्टीहरुले उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्न आह्वान गरे। उनले नेपालको राष्ट्रिय राजनीति राम्रो ढंगले अल्मलिएको बताए।
उनले पछिल्लो सत्ता गठबन्धनका नेताहरुले बुद्धि पुर्याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प नरहेको जिकिर गरे। उनले अहिले विचार मिल्नेहरुको बीचमा एकता सत्ता सहकार्य भएकाले लामो समय टिक्ने बताए।
उनले भने, ‘नेपालको राष्ट्रिय राजनीति यो पछिल्लो निर्वाचन पछि निकै नराम्रो ढंगले अल्मलियो । दिशाहिन हुने हो की के हो? भन्ने डरलाग्दो परिस्थिति सिर्जना भएको थियो। पछिल्लो अवधिमा आएर फेरि अलि विचार मिल्नेहरुको बीचमा एकता गर्नुपर्छ, भनेर अहिले वामपन्थी शक्तिहरुको सरकार बनेको छ। अहिले हामी अलग अलग हिँडौँ, प्रतिष्पर्धा गरौँ, आफ्नो आफ्नो शक्ति निर्माण गरौँ, अझै ठूलो चुनौतिपूर्ण परिस्थितिमा अझै राम्रो एकता होला भन्ने हिसावले अहिले यसमै सहमति गरेका हौं। यो प्रतिष्पर्धाको सहमति हो। हाम्रो उम्मेदवारी फिर्ता हुँदैन। नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ। इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ। हामीले त्यत्तिकै उठाएका छैनौं, उहाँसँग योग्यता पनि छ। धेरै चकित हुनेछन्।’
उनले अहिलेको सत्ता सहकार्य प्रतिष्पर्धाको मात्रै भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।