काठमाडौं- माओवादी केन्द्रले इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने निर्णय गरेको छ। माओवादी केन्द्र र एमाले दुवै पार्टीका इलाम जिल्ला संयोजकले विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरेको जनाएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएबमोजिम इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङलाई सघाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘आगामी २०८१ वैशाख १५ गते हुन लागिरहेको इलाम-२ प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नेकपा एमाले केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकोले इलाम-२ मा नेकपा एमालेको उम्मेदवार सुहाङ नेम्बाङ्गलाई साझा उम्मेदवारको रूपमा अत्यधिक बहुमतका साथ विजयी गराउन आम मतदाता, शुभेच्छुक, समर्थक आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौँ।'
विज्ञप्तिमा माओवादी केन्द्रका जिल्ला संयोजक विजय खम्बु र नेकपा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतको हस्ताक्षर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।