तनहुँ- राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने बताएका छन्। जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘राजनीतिक अस्थिरताको श्रृङखलाले यो देश र व्यवस्थालाई अप्ठयारो नहोस भन्ने मेरो चिन्ता हो मैले प्रधानमन्त्रीलाई पनि यही भनेको छु। तपाईंहरूको राजनीतिमा मेरो भन्नु केही छैन तर राजनीतिक अस्थिरताले देश र व्यवस्थालाई अप्ठ्यारो नहोस भन्ने मेरो चिन्ता हो, प्रधानमन्त्रीले तपाई र म रहेसम्म केही हुँदैन भन्नुभएको छ,’ उनले भने, ‘तपाईंहरुले मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन म रहेसम्म निष्ठापूर्वक लागिरहने तपाईहरुसँग कवुल गर्दछु।’
उनले तनहुँ जिल्लालाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको उल्लेख गर्दै भने, ‘एउटा जिपी कोइराला श्वास प्रश्साव केन्द्रलाई शिक्षण अस्पताल बनाउने र अर्को संसारमा कुनै पनि नेपालीले एक पटक नआई नहुने भानु साहित्य उद्यान, यसैले यो तनहुँलाई विशिष्ट जिल्ला बनाउँछ।’
उनले विकासको कुरा रोकेर कानुनको कुरा गर्न नहुनेतर्फ न्यायक्षेत्रको ध्यानाकर्षण गराए। उनले भने, ‘विकासको काम रोकेर कानुनको कुरा नगरौं। न्याय पनि जनताको पक्षमा हुनुपर्छ। यो मेरो सुझाव र सल्लाह हो।’
राष्ट्रपति पौडेलले देश विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिमप्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चितता गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।