काठमाडौं– सरकारका मन्त्रीहरुले आफूले गरेको कामको प्रधानमन्त्री समक्ष दैनिक रुपमा बिफ्रिङ गर्नुपर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरुले दैनिक रुपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सो कुराको जानकारी दिएका हुन्।
उनले मन्त्रीहरुले हरेक दिन कुन काम राम्रो र ठूलो गरेका हुन् भन्ने कुराको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्नुपर्ने निर्णय भएको उनले जानकारी दिए। उनले यसो गर्दा मन्त्री र कर्मचारीहरुलाई काम गर्न जागरुक बनाउने बताए।
उनले भने, ‘आज मैले एउटा निर्णय मन्त्रिपरिषद्बाट गराएको पनि छु, सबै मन्त्रिहरुले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने। गरेका कामहरुमध्ये कुनचाहीँ त्यो दिनको राम्रो र ठूलो काम गरियो त्यो ब्रिफिङ प्रधानमन्त्रीलाई प्रत्येक दिन गर्नुपर्ने भनेपछि त्यसले अब सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ। सबै मन्त्रालयलाई, त्यसपछि सबै सचिवहरुलाई र सबै कर्मचारीहरुलाई तताउँछ भन्ने मेरो विश्वास छ। हामी बल गर्दैछौं।’
प्रधानमन्त्री दाहालले सरकारले गरे अनुरुपको तदारुकता र दृढताका साथ प्रशासन र कर्मचारीहरुले गर्न नसकेको भन्दै यस विषयको कारण खोजी गर्नुपर्ने बताए। उनले कर्मचारी र राजनीतिक तहले काम गर्ने साझा रुपमा प्रयास गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।