काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन्। बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।
प्रदेश सभामा सम्बोधन गर्दै चौधरीले आफ्नो सरकारले गरेका कामको चर्चा गरेका थिए। उनले सत्ता भनेको आउने र जाने थलो भएको बताए। उनले संघीयतालाई बचाउन सबै एक भएर लाग्नुपर्ने बताए। सम्बोधनका क्रममा उनले भने, ‘मैले राजीनामा गर्ने घोषणा गर्दछु।’
चौधरी २०८० वैशाख १४ गते उनी मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिबेला कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी लगायतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ मा सत्ता गठबन्धन परिवर्तन गरेपछि त्यसको असर प्रदेशहरूमा पनि देखिएको थियो। जसअनुसार फागुन २३ मा माओवादी केन्द्रले मुख्यमन्त्री चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो। तीस दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यतामा फसेका चौधरीले त्यसको सम्भावना नदेखेपछि बिहीबार प्रदेश सभाबाट राजीनामा दिएका हुन्।
यता लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि चार दलहरू माओवादी केन्द्र, एमाले, जसपा र एकीकृत समाजवादी तथा स्वतन्त्र सांसद खड्ग बस्नेतबीच पाँच बुँदे सहमति भइसकेको छ।
मुख्यमन्त्री चौधरीको राजीनामा घोषणाअघि नै बिहीबार भएको सहमतिमा उनीहरूले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको दल नेता जोखबहादुर महरालाई लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त गर्न समर्थन गरेको गरेको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।