काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ता भित्रमा टुंगोमा पुर्याउनुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफलको क्रममा बोल्दै मन्त्री गिरीले सो विधेयकलाई एक हप्ताभित्र टुंगोमा पुर्याउनुपर्ने बताएका हुन्।
उनले संसद्को हिउँदे अधिवेशनको समय धेरै बाँकी नरहेको भन्दै चालू हिउँदे अधिवेशनमै समितिले विधेयकलाई पारित गरेर संसद्मा पठाउनुपर्ने बताए। उनले एक हप्ताभित्र पारित गर्नेगरी तीव्रताका साथ काम गर्नुपर्नेमा जोड दिए।
चालू अधिवेशनमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्मा पुर्याउन सके राम्रो उपलब्धि हुने उनको भनाइ छ।
उनले भने, ‘मैले यसभन्दा अगाडिको बैठकमा पनि माननीयज्यूहरुलाई आग्रह गरेको थिएँ, संसदको यो हिउँदे अधिवेशनको धेरै समयावधि सायद छैन। यसबीचमा हामीले कम्तिमा पनि यो केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंग्याएर ऐनको रुपमा अगाडि बढाउनको निम्ति सक्यौं भने राम्रो उपलब्धि हुनसक्छ भन्ने लागेको छ। हामीसँग धेरै समय छैन। जसले गर्दाखेरी हामी तीव्रताका साथ काम गर्नुपर्ने छ र आउने एक हप्ताभित्र यसलाई टुंगोमा पुर्याउनुपर्ने छ र संसद्मा प्रतिवेदन बुझाउने स्थितिमा हामी जान सक्यौं भने राम्रो उपलब्धि हुन्थ्यो भन्ने मलाई लाग्छ।’
उनले छलफलका क्रममा सांसदहरुले राखेको सुझावहरुको सन्दर्भमा मन्त्रालयमा छलफल गरेर धारणा तय गर्ने बताए। विधेयकको सम्बन्धमा बाँकी रहेका छलफलहरुमा सम्बन्धित मन्त्री बसेर छलफल अगाडि बढ्ने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।