कैलाली- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने कार्यसूची छ। तर मत पाउने अवस्था नदेखेपछि शाह राजीनामा दिने तयारी गरिरहेका छन्। शाहले प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिने तयारी थालेका स्रोतले बताएको छ।
मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त गर्न आफ्नो दल नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १ र स्वतन्त्र १ सांसदको गरी २७ मत आवश्यक पर्छ। तर नाउपाका २ सांसद काठमाडौंमै रहेका छन्।
नाउपामा रेशम पक्षका ५ जना सांसद विश्वासको मत दिन तयार रहे पनि रञ्जिता श्रेष्ठको पक्षका २ जना सांसद विपक्षमा रहेका छन्। उनीहरू काठमाडौंबाट मत दिन जान तयार नभएको अवस्थामा स्वतन्त्र सांसद डा तारा जोशीले पनि काठमाडौं नछाड्ने बताए। 'उहाँहरु २ जना कुनै हालतमा जानुहुन्न। त्यसैले मैले गएर पनि मुख्यमन्त्रीलाई मत पुग्दैन। म पनि जान्न,’ उनले भने।
यी तीन सांसद विश्वासको मत दिन धनगढी नआउने भएपछि मुख्यमन्त्री शाहले राजीनामाको तयारी गरेको स्रोतले बताएको छ।
सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्। सुदूरपश्चिममा बमुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।