काठमाडौं- स्वास्थ्य बीमा बोर्डले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० करोड ५० लाख रुपैयाँ भुक्तानी नगर्दा बन्द हुने अवस्था आएको सांसद मेटमणि चौधरीले बताएका छन्। संसद्को शून्य समयमा बोल्दै उनले तुरुन्त भुक्तानीका लागि माग गरेका हुन्।
दाङको घोराही उपमहानगरपालिकामा रहेको प्रतिष्ठानमा अहिले दैनिक ७०० देखि ८०० बिरामीको उपचार भइरहेको बताउँदै सेवा ठप्प हुने अवस्था आएको बताएका हुन्।
उनले सेवाका साथै एमबीबीएस लगायतको तयारी भइरहेको प्रतिष्ठानमा यस्तो हुनु दुखद रहेको बताए। उनले भने, 'बीमाको भुक्तानी बन्द हुँदा आपुर्तीकर्तालाई प्रतिष्ठानले सामग्री बाफतको रकम दिन सकेको छैन। जसले अस्पताललाई दैनिक चाहिने सामाग्री अभाव हुने अवस्था आएको छ।'
यसैगरी भौतिक निर्माणका लागि ४ अर्ब ५० करोड सहमति अर्थ मन्त्रालयले रोकेकोमा समेत सांसद चौधरीले आपत्ति जनाए । उनले प्रतिष्ठानको सेवा विस्तार र नयाँ शिक्षाका लागि सहमति प्रदान गर्न अनुरोध पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।