काठमाडौं– निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ। आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ।
उनी इलामका जिल्ला न्यायाधीश हुन्। चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी पूरा भएको आयोगले जनाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ। उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ ।
इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन्। यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन्। निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।