काठमाडौं- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताएका छन्। मंगलबार काठमाडौंमा समाजवादी मोर्चाको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्रीले अहिलेको संविधान सम्झौताकै दस्ताबेज भएकाले पूर्ण नरहेको भन्दै अहिले आफूले नयाँ सत्ता समीकरण बनाउनुको उद्देश्य प्रधानमन्त्री बन्नका लागि नभएको जिकिर गरे।
उनले समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भई र नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर नयाँ समीकरण बनाएको बताए। माजवादी धारा र प्रवृत्तिका पार्टीहरुले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जान सकिने उनको दाबी थियो।
उनले पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहेको भन्दै संविधानलाई बढी भन्दा बढी प्रगतिशील धारातिर अघि बढाउनका लागि आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले उनले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरु एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अघि बढाउन सकिने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री दाहालले आफूले केही जोखिम मोलेर भए पनि देशभक्त वामपन्थीहरुलाई एकतामा ल्याउने जमर्को गरेको बताउँदै समाजवादको जन्म अन्ततः सडकबाटै भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।