काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नहुने तर्क गरेका छन्। मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले पैसा हुनेले निर्वाचन जित्ने परिपाटी विकास भएको भन्दै निर्वाचनको यस किसिमको विकृतिलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए। उनले नेपालमा प्रत्यक्ष कार्यकारी आउँदा देशको सबै गहना लुटेर लग्ने जिकिर गरे।
उनले नेपाली राजनीतिककर्मीहरुको आचरण सही नभएको ठहर गर्दै नराम्रो मानिस कार्यकारी भएको खण्डमा देशका लागि राम्रो हुन नसक्ने जिकिर गरे। उनले अहिलेको अवस्थामा संविधान सबै काम गर्नका लागि बाधक नभई सहयोगी रहेको बताए।
नेपालले भने, ‘निर्वाचन प्रणालीका कुरा उठे, यसका आफ्नै समस्या छन्। पैसा हुनेले जित्ने, यो निर्वाचनको विकृतिलाई कसरी नियन्त्रण गर्ने? यसको निम्ति कुनै प्रत्यक्ष निर्वाचनको परिपाटीले टुंगो लगाउँदैन।’
अध्यक्ष नेपालले जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए। नेपालमा समाजवादको विकल्प नरहेको जिकिर गरे। राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अन्त्य गरेको भएपनि फेरि राजतन्त्रका शक्तिहरु सल्बलाउने र पुनःउत्थानवादीहरुले राजतन्त्र फर्काउने कोसिस गरिरहेको भन्दै समयमै सजग हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।