तुलसीपुर- लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिने भएका छन्।
प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार अपराह्न ४ बजे विश्वासको मत लिने तयारी छ। त्यसका लागि प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको उनले जानकारी दिए।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
लुम्बिनी प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार/चार जना सदस्य छन्। राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन्।
जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन/तीन जना प्रदेश सभा सदस्य छन् भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक/एकजना प्रदेश सभा सदस्य छन्। साथै एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।