काठमाडौं- बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास (बिमस्टेक) बडा पत्रको प्रावधानमाथि छलफल सुरु भएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा बिमस्टेकको बडा पत्र संसद्बाट अनुमोदन गर्नुपर्ने भएकाले सो सम्बन्धमा छलफल सुरु गरिएको हो।
बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले बिमस्टेकबाट नेपालले प्राविधिक, शैक्षिक र अनुसन्धानको क्षेत्रमा फाइदा लिन सक्ने बताए। उनले क्षेत्रीय संगठनमा भारतको बढी चासो भएको उल्लेख गर्दै देशको हितमा यसलाई परिचालन गर्न नेपाल सरकारले विशेष जोड दिनुपर्ने बताए।
सांसद पन्तले भन्नुभयो, ‘विमस्टेकबाट नेपालले ठोस रुपमा कुनै फाइदा लिएको अहिलेसम्म देखिँदैन। त्यस कारण हामीले हेर्नुपर्ने कुरा के छ भने हामीले प्राविधिक, शैक्षिक र अनुसन्धानका विषयहरुमा यसबाट बेनिफिट लिन सक्छौं। त्यसका लागि पनि धेरै भरपर्ने चाहिँ एक नम्बरमा भारत त्यसपछि थाइल्याण्ड देखिन्छ। र, यो जतिसुकै क्षेत्रीय सहयोगको लागि बनाएको संगठन भने पनि यसमा भारत विशेष रुचि देखिन्छ। यसलाई नेपालको हितमा उपयोग गर्न सक्नुपर्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले विमस्टेकमा नेपालको सार्वभौमिकतामाथि आँच आउने कुनै पनि प्रावधान नभएकाले त्यसको स्वागत गर्नुपर्ने बताए। उनले विमस्टेकलाई सशक्त बनाउन सकियो भने त्यसले नेपालको हित नै गर्ने विश्वास समेत व्यक्त गरे।
उपसभापति वाग्लेले भने, ‘हाम्रो सार्वभौमिकतामाथि आँच आउने प्रावधान यसमा छैनन्। त्यसैले म यसको स्वागत गर्न चाहन्छु। आर्थिक उन्ननयन, सामाजिक प्रगति, वैज्ञानिक उपलब्धि, शान्ति, स्थायित्व, कनेक्टिभिटी जस्ता मुद्दाहरुमा क्षेत्रीय सहकार्य गर्ने उद्देश्यले विमस्टेक बल्ल जाग्दैछ। यसलाई हुर्काएर दौडाउन सकियो भने नेपालको हितनै हुन्छ भन्ने हाम्रो पार्टीको मत छ।’
सांसद वाग्लेले आर्थिक उन्ननयन, सामाजिक प्रगति, वैज्ञानिक उपलब्धि, शान्ति, स्थायित्व, कनेक्टिभिटी जस्ता मुद्दाहरुमा विमस्टेकले जोड दिएको उल्लेख गर्दै नेपालले पनि त्यसमा सहकार्यको हातलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।