काठमाडौं- समाजवादी मोर्चाका संयोजक एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अहिलेका असन्तुष्टिहरुलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले गणतन्त्रबाट विभिन्न उपलब्धि प्राप्त भएपछि पूर्ण हुन नसकेको जिकिर गरे। उनले समाजवादीहरु, कम्युनिष्टहरु, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बीचमा स्थापित गर्ने, जनतालाई कसरी सुरक्षित गर्ने, भन्ने मुल कुरा बनाएर अघि बढाउन जरुरी रहेको बताए।
चन्दले समाजवादी मोर्चाले अस्थिरता ल्याउने नभई स्थिरतातिर देशलाई अघि बढाउने दाबी गरे। उनले आज भइरहेका असन्तुष्टिहरु, समस्याहरुलाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढंगले समाधान गर्न समाजवादी मोर्चाले भूमिका खेल्ने बताए।
उनले भने, ‘हामीले विभिन्न उपलब्धि हासिल गरेको कुरा साँचो हो तर पूर्ण भएका छैनन्। पूर्ण नहुनुको अर्थ यो पनि हो की मानव जाति चुप लागेर कोही बस्दैनन्। श्रमिकहरु, उत्पीडितहरु, अधिकारको खोजी गर्ने शक्तिहरु कोही पनि चुप लागेर बस्दैनन्। प्रवृत्तिहरु बीचको टकराव हुनु स्वभाविक हो। हामी समाजवादीहरु, कम्युनिष्टहरु, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बीचमा स्थापित गर्ने? जनतालाई कसरी सुरक्षित गर्ने ?यो विषयमा हाम्रो समाजवादी मोर्चाले एउटा स्पष्ट दृष्टिकोण दिएको छ की आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।