काठमाडौं– नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद यादवले सहकारी प्रकरणमा छानविनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गरेका हुन्।
उनले सो आरोपको निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर नल्याएसम्म गृहमन्त्रीलाई आरोपले नछोड्ने र जिन्दगीभर लखेट्ने बताए। उनले संसदीय समिति बनाएर अनुसन्धान गर्नु गृहमन्त्रीकै हितमा हुने बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि हाम्रो नयाँ कृषि सहकारी संस्थामा हुँदा निक्षेपकर्ताको चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको बताए।
रास्वपाका यि दुई नेताहरुमाथि पनि निष्पक्ष छानविन गर्न उनले माग गरे। उनले भने, ‘मेरो आग्रह माननीय गृह मन्त्रीलाई पनि छ, गृहमन्त्रीले केही नयाँ गर्छु भनेर आउनु भएको छ। सकेसम्म चाँडो छानविन समिति बनाएर आरोपलाई टुंगोमा पुर्याउन सहयोग गर्नुहोस्। यो आरोपमा निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर नल्याएको सम्बन्धमा यो आरोपले तपाईलाई कहिल्यै छोड्ने छैन। जिन्दगीभर लखेट्ने छ। त्यसकारण समिति बनाएर यो विषयमा अनुसन्धान हुने कुरा यो तपाईकै हितमा हुन्छ। म गृहमन्त्रीलाई प्रश्न गर्न चाहन्छु, तपाई पत्रकार रहँदा गोर्खा मिडिया प्रा.लि.मा २०७७ चैत्रदेखि २०७९ असारसम्म तपाई संलग्न भएको हो कि होइन? सञ्चालक र प्रवन्ध निर्देशक भएको हो कि होइन? गोर्खा मिडियामा करोडौं लगानी भएको हो कि होइन? ८० करोडभन्दा बढी रकम सहकारीबाट लिएको हो कि होइन? तथ्यले बताउँछ सहकारीको पैसा तपाईको संस्थामा आएको छ। त्यो पैसा कसको हो त? तपाईको व्यक्तिगत पैसा होइन। कसैले दान दिएको पनि होइन। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय छ। सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए। सो सहकारीमा पनि अस्वभाविक रुपमा गोर्खा मिडियाका अध्यक्ष जिबि राईलाई भित्र्याइएको छ। त्यो काम श्रममन्त्रीको हो भन्ने छ। यो सहकारीको छानबिनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने छ। निष्पक्ष छानबिन आवश्यक छ। संसदीय समिति बनाऔं।’
उनले सहकारी प्रकरणमा छानविन गर्न संसदीय समिति बनाउने कुरा नेपाली काँग्रेसको अनिवार्य शर्त भएको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।