काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सार्वजनिक प्रशारण क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताएकी छन्।
मंगलबार सिंहदरबारमा रेडियो नेपालको ७४ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रशारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधि सभामा छलफल भइरहेको बताइन्।
उनले विगतमा जस्तै सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई सरकारको प्रचारकको रुपमा मात्रै नभइ जनताको आवाज सरकारसमक्ष पुर्याउने माध्यमका रुपमा विकास गर्न आवश्यक रहेको बताइन्।
मन्त्री शर्माले आम सञ्चार क्षेत्रको पुनः संरचनालाई ध्यानमा राखेर आम सञ्चारको क्षेत्रमा कानून निर्माणमा जोड दिएको पनि उल्लेख गरिन्। उनले हाल संसदमा रहेको सार्वजनिक सेवा प्रशारण विधेयक पारित भएपछि रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक प्रशारणमा रुपान्तरण हुने भन्दै अहिलेदेखि नै तयारी थाल्नुपर्ने आवश्यकता रहेको बताइन्।
मन्त्री शर्माले लोकतन्त्रका उपलब्धीको रक्षा र विकास गर्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनु अबको आवश्यकता भएको उल्लेख गरिन्। उनले संविधानको मर्मअनुरुप धेरै जनपक्षिय र प्रगतिशिल कानून निर्माण गरेको तर कार्यान्वयन फितलो भएको भन्दै हरेक क्षेत्रमा अर्थपूर्ण समावेशी सहभागिता आवश्यक रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।