काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन्। केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै फागुन २३ गते सत्ता साझेदार कांग्रेसले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउँदै समर्थनसमेत फिर्ता लिएको थियो।
मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिएका हुन्। आज भएको विश्वासको मतदानमा उनको पक्षमा ५६ मत खसेको हो। जसमा एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका एक सांसदले विश्वासको मत दिएका हुन्। हाम्रो नेपाली पार्टीको सरिता खड्गी भने बैठकमा अनुपस्थित रहेकी थिइन् ।
जम्कट्टेलको विपक्षमा काङ्ग्रेसको ३७ मात्र मत परेको छ। राप्रपाको १२ जना प्रदेश सभा सदस्य तथा नेमकिपाका ३ जना गरि १५ जना प्रदेशसभा सदस्यले तटस्थमा मतदान गरेका थिए।
२०७९ साल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले सोही वर्ष माघ ३ गते पहिलो पटक विश्वासको मत लिएका थिए भने एमालेले सरकार छाडेपछि पुन सोही वर्ष चैत १० गते पुनः दोश्रो पटक विश्वासको मत लिएका थिए। आज चैत १९ मा विश्वासको मत पाएका उनले १५ महिनाको अवधिमा तेश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन्।
एकीकृत समाजवादीलाई सुदूरश्चिममा तत्काल मुख्यमन्त्री दिने र बागमतीमा आलोपालो मुख्यमन्त्रीको सहमतिपछि मात्र बागमतीमा आज समाजवादीले विश्वासको मत दिएको हो। अन्तिम समयसम्म एकीकृत समाजवादीले आफ्नो अडान कायमै राखेपछि विश्वासको मत लिनुअघि केन्द्रमा सत्ता गठबन्धनको सहमति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।