काठमाडौं– नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सहकारी ठगी प्रकरणमा कांग्रेस पछि नहटेको बताएकी छन्। सोमबार संसद भवन परिसरमा बोल्दै उनले यस्तो बताएकी हुन्।
आफ्ना मागहरु यथावत राखेर सरकारलाई समय दिएको उहाँको भनाइ छ। उनले सदनमा आएका धेरै विधेयकहरुलाई असर पर्नेगरी काँग्रेस जस्तो पार्टीले अवरुद्ध गरेर जानु हुँदैन भन्ने भावले मात्रै संसद सुचारु भइरहेको बताइन्।
उनले सरकारले आफ्ना माग र धारणाहरुमा जवाफदेही नबनेको दिन खरो रुपमा उत्रिने बताइन्। उनले कांग्रेस जस्तो पार्टीले विधेयकलाई नै अलपत्र पारेर सदन महिनौ दिनसम्म संसद अवरुद्ध गर्न नमिल्ने बताइन्।
दिएको समयसम्म पनि सरकारले बेवास्ता गरेको खण्डमा बाध्य भएर संसद अवरुद्ध पार्ने उनको भनाइ छ। उनले भनिन्, ‘हाम्रो मागमा ब्याक भएको भन्न मिल्दैन। हामीले त सरकारलाई केही समय दिएका हौं। हामीले हाम्रो कुराहरु यथावत उठाइराखेका छौं। दैनिक उठाएर सदनमा आएका धेरै विधेयकहरुलाई असर पर्नेगरी काँग्रेस जस्तो पार्टीले अवरुद्ध गरेर जानुहुँदैन। परेको दिनमा कुन बेला, कतिखेर सरकारले साह्रै नै हाम्रो कुरालाई बेवास्ता गर्यो भने मात्रै हामी घेर्ने तयारीमा छौं। हामी ब्याक भएको होइन। सरकारलाई समय दिएको मात्रै हो। यो विधेयकलाई अगाडि बढाउनका लागि सहयोग गरेको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।