काठमाडौं– बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी र माओवादीका बीचमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छ।
अन्तिम समयमा समाजवादीले मुख्यमन्त्री पाउने सहमति नभएमा विश्वासको मत दिन नसकिने अडान राखेपछि सत्ता गठबन्धनकाबीचमा यस्तो सहमति भएको हो।
योसँगै नेकपा एसले बागमती प्रदेश सरकार जोगाउने भएको छ। मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिनुअघि बालुवाटारमा भएको शीर्ष बैठकमा उनीपछि नेकपा एसले सरकारको नेतृत्व पाउने सहमति भएको हो।
यो सहमतिसँगै अब आजै नेकपा एसले विश्वासको मत दिने समझदारी भएको हो। केन्द्रमा भएको सहमति प्रदेशमा सर्कुलर भएको छ भने केही बेरमा संसद बैठक बसेर विश्वासको मत लिने प्रक्रिया अघि बढाउने तयारी भइरहेको एक मन्त्रीले बताए।
मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको मत आवश्यक पर्छ। प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ। हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन्। प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।