काठमाडौं- उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको दाबी गरेका छन्। चीन भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्।
उनले रसुवागढी–केरुङ, तातोपानी–झाड्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेको उल्लेख गर्दै आफूले चीन भ्रमणका क्रममा कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथशिघ्र खोल्न गरेको आग्रहलाई चीन पक्षले स्वीकारेको बताए। उनले यसबाट चीन सीमानजिक बसोवास गर्ने नेपालीहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको बताए।
मन्त्री श्रेष्ठले नेपाल–चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको बताए। उनले बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन योजनालाई अन्तिम रूप दिई कार्यान्वयन गर्नेबारे छलफल भएको जिकिर गरे।
चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन अनुरोध गरेकोमा चीन पक्षले सकारात्मकता देखाएको उनको दाबी थियो। नेपाल–चीनबीच भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयन गरी तथा विद्यमान संयन्त्रहरूको नियमित बैठक बसी आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सहमत भएको उनले बताए।
सन् २०१२ मा नेपाल–चीनबीच हस्ताक्षर भएको सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँहरूमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको मन्त्री श्रेष्ठले उल्लेख गरे।
‘कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशिघ्र खोल्न चीन पक्ष तयार भएको छ। यसबाट चीन सीमानजिक बसोबास गर्ने नेपालीको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको छु,’ उनले भने।
उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणले नेपाल र चीनबीचको आपसी सद्भाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। घाँस, तरकारी तथा फलफूलहरू लगायतका नेपाली वस्तुहरूको निर्यातमा सहजीकरण गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।