मकवानपुर- नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका विपक्षमा मतदान गर्न निर्देशन दिएको छ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण प्रदेश सभा सदस्यलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो।
बैठकले मुख्यमन्त्री जम्कट्टेललाई २०७९ माघ ३ गते विश्वासको मत दिएकामा २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको र प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकाले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई निर्देशन दिएको हो।
बागमती प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेलले भोली चैत १९ गते विश्वासको मत लिन कार्यक्रम छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
बागमतीको एक सय १० सदस्यीय प्रदेशसभामा बहुमत कायम रहन जमकट्टेलले ५६ मत प्राप्त गर्नुपर्दछ। यस प्रदेशको प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन्।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।