काठमाडौं- नेकपा एमालेकी सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना गर्न ध्यानाकर्षण गरेकी छिन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई व्यवस्थित बनाइ क्लस्टरिङ बेसिसमा कापी जाँच गर्ने प्रणाली विकास गरी समयमा नतिजा प्रकाशित गर्ने प्रणाली विकास गर्न टीयूको पुनर्संरचना गर्न सरकारको ध्यानाकर्षण गरेकी हुन्।
'गत वैशाखमा परीक्षा लिएको जनसंख्या र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीहरू नतिजा पर्खिरहेका थिए। तर उनीहरूले नतिजा होइन, उत्तरपुस्तिका हराएको र पुनः परीक्षा दिनुपर्ने निर्देशनसहितको सूचना त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको छ', उनले भनिन्।
१८३ परीक्षार्थीहरूको उत्तरपुस्तिका हराएको भन्ने समाचारले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको उनको ठहर छ। भनिन्, 'यसप्रकारको चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिहरूलाई तुरुन्त कारबाहीको समेत माग गर्दछु।'
भट्टराईले वार्षिक प्रणाली अन्तर्गतका चार वर्षे पढाइ हुने विषयहरूको चार वर्षभित्रमा परीक्षा सहित नतिजा समेत प्रकाशित गर्ने नियम त्रिभुवन विश्वविद्यालयले बनाएको भए पनि यसलाई कार्यान्वयन गर्ने सवालमा त्रिभुवन विश्वविद्यालय जिम्मेवार बन्न नसकेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।