काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले इलाम-२ मा वैशाख १५ गते हुने उप-निर्वाचन तयारीबारे जानकारी लएका छन्। मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय इलाम पुगेर निर्वाचन तयारीबारे जानकारी लिएका हुन्।
उनले भयरहित वातावरणमा मतदान हुने व्यवस्था गर्न सबै निकायलाई निर्देशन समेत दिए। गृहमन्त्री लामिछानेले सुरक्षासहित सबै प्रबन्ध मिलाउन प्रशासनलाई निर्देशन दिएका हुन्।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उप-निर्वाचन तयारीसहित जिल्लाको वस्तुस्थिति, सेवा प्रवाहको अवस्था, सुरक्षा चुनौती लगायत विषयमा गृहमन्त्री समक्ष जानकारी गराएका थिए। प्रजिअ यादवका अनुसार उप-निर्वाचनमा ३ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ।
गृहमन्त्रीका निर्देशन
- एउटै निर्वाचन क्षेत्रमा हुने भएकाले उप-निर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोत-साधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र जनविश्वसनीय योजना बनाउनुहोला।
- निश्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन गृह मन्त्रालयले तत्काल गर्नु पर्ने काम भए जानकारी गराउनुहोला। आवश्यक समन्वय र स्रोत-साधन उपलब्ध हुन्छ।
- अन्य विषय: कानुनले दिएको अधिकार प्रयोग गर्नुस्। के गरौं भनेर सोध्नुभयो तपाईंलाई चाहिँ के गर्ने हो सोच्नुपर्छ।
- तपाईंहरु राजनीतिक दलको दलदलमा नफस्नुस्। हाम्रोसहित सत्ता सहयात्री दल वा अन्यबाट दबाब र प्रभाव आयो भने मलाई भन्नूस्, त्यो म थेग्छु।
- नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो, नागरिकले कुनै पनि कुरामा गुनासो गर्नु नपरोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।