काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निर्वाचन प्रणाली फेर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंबाट प्रकाशित हुने केही साप्ताहिक पत्रिकाका सम्पादकहरूसँगको भेटमा उनले त्यसो नगर्ने हो भने मुलुकले निकास नपाउने बताए।
कोइरालाले अहिलेको मिश्रित (प्रत्यक्ष र समानुपातिक) निर्वाचन प्रणालीबाट समानुपातिक प्रणाली हटाइ प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने धारणा राख्दै आएका छन्। त्यसको विकल्पमा प्रत्यक्षतर्फको सिट बढाउने र त्यहीँबाट समावेशिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ। त्यसका लागि विभिन्न दलहरूबीच छलफल गरेर निष्कर्षमा पुग्न सकिने उनको मत छ।
बिहीबारको छलफलमा कोइरालाले अहिले देश र कांग्रेस पार्टी दुवैको अवस्था असाध्यै खराब रहेको बताए। पार्टीभित्र आफ्नो समूह थोरै भएकाले पार्टी सुधारका लागि जति कुरा गरे पनि त्यसको सुनुवाइ नभएको बताए। तर उनले आफूले हरेश नखाएको र एकदिन पार्टीलाई पुरानो अवस्थामा ल्याएर निर्वाचनमा एक्लै बहुमत ल्याउन सक्ने बनाउने आत्मविश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।