काठमाडौं– गत मंसिरदेखि माघसम्म ५ वटा फिल्म प्रदर्शनमा आए। जाडो मौसमका कारण फिल्म रिलिजमा कमी आएको थियो। त्यसमध्ये फिल्म ‘दयारानी’ले मात्र लगानी सुरक्षित गर्यो।
चलचित्र विकास बोर्डको तथ्यांकमा फिल्मको लाइफटाइम कलेक्सन २ करोड ६० लाख ग्रस छ। फागुन महिनामा भने फिल्म रिलिजको बाढी नै देखियो। यो एक महिनामा मात्र ६ वटा नेपाली फिल्म प्रदर्शन भए।
नेपाली वक्सअफिसमा 'महाजात्रा'को सुखद् कमाइका समाचारहरु सार्वजनिक भइरहँदा फागुन महिनामा रिलिज भएका ६ सिनेमामा ६ नै सिनेमा वक्सअफिसको भाषामा भन्नु पर्दा फल्प भएका छन्।
यो महिनाको पहिला साता फागुन ४ मा रिलिज भएको 'जिग्री' जुन रफ्तारमा रिलिज भयो सोही रफ्तारमा सिनेमा हलबाट गायब भयो। आकाश मगर निर्देशित सिनेमा दुई दिन पनि हलमा टिकेन। यो सिनेमामा अत्तो न पत्तो शैलीमा एकाएक रिलिज भएको थियो।
'जिग्री' पश्चात फागुन ११ मा मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ प्रदर्शन भएको थियो। फिल्मले करिब ५५ लाख मात्र ग्रस कलेक्सन गरेको रिपोर्ट छ। रिलिजका केही दिनमा सिनेमाले कमाइ गर्ने सम्भावना देखाएको थियो। हलिउड फिल्मको प्रिमियर हुने गरेको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा सिनेमाको भव्य प्रिमियर भएको थियो।
नेपालमा पनि लाहुरे समुदायको सहयोगमा प्रचारका विभिन्'न तामझाम गरिएको भएपनि सिनेमाले वक्सअफिसमा तामझाम गर्न सकेन। यस्तै हालत फागुन १८ गते प्रदर्शनमा आएको सौरभ चौधरी निर्देशित फिल्म ‘अगस्त्य’को भयो। झण्डै चार करोड लगानी रहेको दाबी गरिएको सिनेमाले प्रदर्शनको चौंथो सातासम्म आइपुग्दा २ करोड ३५ लाखमाथि ग्रस कलेक्सन गरेको बताइन्छ।
यो सिनेमालाई लिएर ठूलै आशा रहेको भएतापनि 'न्यारेटिभ स्टाइल' तथा सम्पादनमा मार खाँदा सिनेमा वक्सअफिसमा चुक्यो।
यसैगरी फागुन २५ गते एकसाथ तीन सिनेमा ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’ रिलिज भए। यी सबै सिनेमा फ्लप भए। दयाहाङ राई र मिरुना मगरको हिट जोडीले 'रंगेली'लाई वक्सअफिसमा गति दिन सकेन भने तीन महिला अभिनेत्रीलाई केन्द्रीय भूमिकामा पेस गरेको 'उपहार'ले कमाल देखाउन सकेन। पहिलो हाफमा कमेडीले खुबै हसाएको रेखा थापा, पूजा शर्मा तथा वेनिशा हमालको यो सिनेमाले दोश्रो हाफमा पटकथाको लय गुमाउँदा दर्शक आकर्षित गर्न सकेन।
'झिंगेदाउ' निर्देशक ज्ञानेन्द्र देउजाको यो सिनेमाले बलियो स्टारकास्टका बाबजुत व्यापार गर्न सकेन। यस्तै चेपुवामा पारिएको, हेपिएको भन्दै ‘काँडेतार’लाई निर्माताले दुई दिनमै हलबाट उतारे। यसरी फागुनका महिना नेपाली सिनेमाको वक्सफिस सुनसान हुनपुग्यो।
यसका अलावा मंसिर, पुस र माघ महिनामा मात्र ५ सिनेमा रिलिज भएका थिए जसमा 'दयारानी'ले आफ्नो लगानी उठायो भने बाँकी सिनेमाको कमाइ सम्झिने पानी छम्किने किसिमको भयो भन्दा फरक नपर्ला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।